उपत्यकामा गुड्ने थोत्रा सवारी साधन प्रदुषणको मुख्य कारक

२४ गते, काठमाडौं । प्रदुषण मानव समाजको लागि निकै चुनौती बन्दै गएको छ । विकासको नाउँमा भईरहेको अस्तव्यस्ताले प्रदुषण बढी रहेको छ । मुलतः काठमाडौ उपत्यकाको प्रदुषणको मुख्य कारक थोत्रा सवारी साधन हुन् । सरकारले प्रदुषण निम्त्याउने पुराना सवारी साधन बिस्थापन गर्ने नभनेको पनि होइन, तर, सरकार कथनी र करनीबीचको तादम्यताको अभावमा उपत्यका थोत्रा सवारीको धुवाँको मारमा पर्दै गएको छ ।सवारी साधनबाट निस्कने घातक धुवाँले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएपनि राज्यका निकायहरुकै कारण उपत्यकाबासी हरेक पल पलमा घातक धुवाँको प्रदुषणको सामना गर्न बाध्य छन् ।

पुराना सवारी साधनको विस्थापन विद्युतीय सवारी संचालन गर्ने सरकारी तयारी पहिले देखि नै हो । सरकारी तयारी लामो समयदेखि भएपनि कार्यान्वयन हुन नसक्दा उपत्यकाको प्रदुषण दिन प्रतिदिन बढी रहेको छ ।सरकारले विद्युतीय बस संचालन गर्न सकेको छैन, भने पुराना सवारीको सही व्यवस्थापन नगर्दा प्रदुषण बढीरहेको छ । थोत्रा सवारी संचालनमा सरकारले कुनैपनि रुटमा चल्ने इजाजत नदिने भनिएपनि थोत्रा सवारी धुँवा उडाउँदै गुडीरहेका छन् ।
सरकारी तथ्यांक अनुसार उपत्यकाको प्रदुषणमा ३८ प्रतिशत प्रदुषण थोत्रा सवारीबाट हुने गरेको छ । सरकारले प्रदुषण न्यूनीकरण गर्न भन्दै बीस वर्ष पुराना सवारीलाई थन्काउने भन्दै आएको हो ।४ वर्षअघि यातायात व्यवस्था विभागले देशभरका सडकमा गुड्ने २० वर्ष आयु पार गरिसकेका सवारीलाई कवाडीमा बिक्री गर्ने योजना बनाएको थियो । तर, ४ वर्षसम्म पनि विभागले सिन्को भाँच्न सकेन । विभाग आफ्नै योजना कार्यान्वयन गर्न नसक्दा उपत्यकाबासीले घातक धुँवाको मार खानुपरेको छ । मानव स्वास्थ्यका लागि निकै घातक मानिने सवारी धुवाँको विषयमा सरकार पनि गम्भीर बन्न सकेको छैन । यस्ता सवारी के कति छन् त्यसको यकिन तथ्यांक राज्यसंग पनि छैन । गहिरो अध्ययन र अनुसन्धान विना सरकारले नीति र कार्यक्रम ल्याउने भएकोले पुराना व्यवस्थापनमा चुनौती भएको व्यवसायीको दाबी छ ।

पछिल्लो समय उपत्यकाको वायु प्रदुषण ४ सय एक्यूआईमाथि पुगेको छ । लामो खडेरी त्यसैमा पनि बढ्दो सवारीको धुँवाले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । ५० लाख मासिनको बसोबास रहेको काठमाडौ यतिबेला धुँवाले आक्रान्त छ । उपत्यकाका सडकमा थोत्रा सवारी निर्वादरुपमा धुवाँको मुस्लो फाल्दै गुडिरहेका छन् । सवारी साधन फाल्ने धुवाँ मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ । उपत्यकामा बढ्दो सवारी जाम त्यसैमा पनि थोत्रा सवारीले आगो लप्का झै फ्याँक्ने धुँवाले मानव स्वास्थ्यमा कति असर गर्छ होला ? तर, दैनिक मानव स्वास्थ्यमा परिरहेको यस्तो गम्भीर असरप्रति राज्य पटक्कै जवाफदेही बनेको छैन । सिंहदरबारलाई सडकको विकराल अवस्था बारे राम्रोसंग थाहा पनि छ । प्रदुषण न्यूनीकरणको नाउँमा सरकारी ढुकुटीमा १३ अर्ब कोष जम्मा भएको पनि छ । तर, राज्यको कोष प्रदुषण न्यूनीकरणमा होइन, शिर्षक बेगरका क्षेत्रमा खर्चिने गरिएको छ । पेट्रोल भन्दा डिजेलबाट चल्ने सवारीले बढी प्रदूषण निम्त्याउने गरेका छन् । धुवाँ छोड्दै सडकमा निर्वादरुपले गुडिरहेको थोत्रा गाडीले सहरी सुन्दरतामा कुरुप मात्रै भएको छैन । थोत्रा सवारीले फँयाक्ने धुँवाले मानव स्वास्थमा गम्भीर असर गरिरहेको छ । डिजेल,पेट्रोलबाट कार्बन मोनोअक्साइड, हाइड्रोकार्बनजस्ता हानिकारक धुवाँ निस्किने भएकोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हो ।

नेपालमा श्वासप्रश्वासको समस्याका कारण वर्षेनी ३७ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । वर्षेनी यो दर बढ्दो छ । प्रदुषण न्यूनीकरणमा सरकारले कार्यक्रम नबनाएको पनि होइन, तर, सरकारी कार्यक्रमहरुले वास्तविक समस्यालाई पटक्कै सम्बोधन गर्न सकेनन् । सडकका चोकमा सवारीमा जरिवाना काटेर राजश्व असुल्ने सरकारले धुवाँ छोडेर लाखौ मानिसको स्वास्थ्य बिगार्दा समेत रमिते बनिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.