गौरा,जिलेबी र मेरो शैशवकाल
"गाउँका बदमास दाईहरु पछाडि सिउँडीको काँडा लुकाएर झुक्याएर गुब्बारा फुटाइदिन्थे । गुब्बारा फुट्दा आफ्नै मुटु फुटेझै लाग्थ्यो । गुब्बाराको हावा फुस्केर जाँदा आफ्नै प्राणपखेरु उडेजस्तो भान हुन्थ्यो । गुब्बारा फुटाउने नरपिचासहरु आफुले विश्वयुद्ध जितेजस्तै गरेर हाँस्दै बाटो लाग्थे तर म त्यहीँ रोएर बस्थे ।"

मानव जिवनको सबैभन्दा सुन्दर,आमोदित–प्रमोदित,मनबहलाउ तथा संवेदनशील अवस्था हो–बाल्यअवस्था । जुन अवस्थामा मानिसले सपना देख्न सुरु गर्दछ । जुन अवस्थामा मानिसले आफ्नो अभिरुचीको परिज्ञान बटुल्ने कोशिस त गर्दछ, तर साच्चिँकै परिज्ञाता बन्न असफल हुन्छ । जसकारण कहिले ऊ डाक्टर बन्न चाहन्छ त कहिले इन्जिनियर । कहिले गायक त कहिले वकिल । जुन अवस्थामा मानिसलाई कुनै पनि कुराको कर्तव्यबोध हुँदैन । ऊ स्वतन्त्र हुन्छ,एउटा आजाद पंक्षी झैँ । जसकारण,उसले मीठो मुस्कानसहित “आऊ मलाई अँगाल” भन्ने भावमा न्यानो अँगालो फैलाउँदै आफुतिर आइरहेको भविष्य त देख्छ । तर उक्त भविष्यले विचित्र चुनौतीहरु,पीडा,दुःख,असफलता,रोदन र तनावजस्ता घनघोर वस्तुहरुको झोला उसलाई कोसेलीस्वरुप भेट गर्न पछाडि भिरेको सत्यको उसले तर्कनासम्म गर्न सक्दैन । त्यो अवस्था,जसमा ऊ झिनामसिना कुराहरुमा औधी खुसी हुन्छ र त्यस्तै कुराहरुमा अत्यन्तै दुःखी पनि ।
बालापनको सबैभन्दा बढी महत्वपूर्ण र बिछट्टै खुसीको क्षण हो,चाडपर्व । सामान्यतया हरेक नेपाली बालबालिकाहरुले महिनौँदिन देखि दशैँ तिहारको पर्खाइमा औँला भाँच्दै बस्छन् । अझै तिहारभन्दा पनि दशैँको बढी पर्खाइ हुन्छ । नयाँ लुगा,दक्षिणा,पिङ आदि कुराहरुको मिष्ट चाहना सहितको प्रिय पर्खाइ । तर मलाई दशैँ नेपालको महान चाँड हो भन्ने भान कहिल्यै पनि भएन । बरु तिहार साह्रै रमाइलो लाग्थ्यो । तर दशैँमा भने मेरो मन कहिल्यै रमाउन सकेन । सायद मैले नयाँ लुगा नपाएर,पिङ खेल्न नपाएर अथवा समग्रमा भन्ने हो भने हाम्रो सुदूरपश्चिममा, सुदूरपश्चिमको पनि दार्चुलामा, त्यसमा पनि मेरो गाँउ पस्तीमा दशैको लागि नभएर गौरा पर्वको लागि नयाँ लुगा किनिने भएर मलाई दशैँ झिँझो,निरस र सुख्खा लागेको होला । मैले मात्रै नभनौँ मेरा गाउँका हरेक दौँतरीले पनि यस्तैै आभाष गर्थे होलान् । हरेक नेपालीहरुले गौरा पर्व भन्ने शब्द सुनेकै होलान् । धेरैले सुदूरपश्चिमको महान् पर्व गौरा पर्वको बारेमा पढेका पनि होलान् । तर के कति हदसम्म महत्वपूर्ण रहेछ भन्ने कुरा र सुदूरपश्चिमका म जस्ता हजारौँ कोयलहरुको बालापनका अनुभवहरु आज म यो आलेखमर्फत बाँड्न गइरहेकी छु ।
गौरा पर्व भाद्र कृष्णको पन्चमी देखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । तर कुनै ठाउँमा दशमी सम्म पनि गौरा पर्व मनाइन्छ । गौरा पर्वको पहिलो दिन अथवा पन्चमीमा महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् केराउ,गहत,गुरौँस,गहुँ र मास गरी पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गाउँघरमा गौरा सुरु हुनुभन्दा सात आठदिन पहिले देखि नै गाउँघरका महिलाहरुले घरघरबाट बिरुडा मागेर जम्मा गर्ने चलन छ । गौरा पर्व सुरु भएको दोस्रो दिन अथवा षष्ठीको दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा लय हालेर एकै स्वरमा गौराको गीत गाउँदै बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
“पाँणकी दिदी मज्यालाकी भौवा त हिट भबिरुडी धोनु झानु ।
पाँचै पाण्णा केदार चल्या छोटीबैना लागिनु पछेट ।।
पछेट नलागु मेरी छोटीबैना घर तेरा काकाको बालो ।
पाँचै पाण्णा केदार चल्या ।।”
हरेक मान्छेमा बेग्लाबेग्लै प्रतिभा हुन्छ । कसैलाई मिठो गाउन आउँछ,कसैलाई सुन्दर नृत्य गर्न आउँछ,कसैलाई लेखनमा रुची हुन्छ,कोही चित्रकलामा अब्बल हुन्छ । यसको मतलब मिठो गाउनेले सुन्दर नाच्दैन अथवा राम्रो लेख्नेले चित्र कोर्न सक्दैन भन्ने होइन । तर कुनै एउटा ठूलो समुदाय अथवा समुहमा भएका सबैजनाले मिठो गीत गाउँछन्,त्यो पनि एकै किसिमको स्वरमा भन्दा झ्वाट्टै पत्याइहाल्न जोकोहीलाई गाह्रो नै हुन्छ । तर यो कुरा साँचो हो । मेरो समूदायमा मैले देखेको विचित्र यथार्थ । त्यहाँ सबैजना महिलाहरुले गौरामा गाउने गीत कसरी एउटै लयमा गाउन सक्छन्? गौराको गीत मात्रै होइन,त्यहाँको विवाह,वर्तबन्ध जस्ता शुभकार्यहरुमा गाइने झोडो तथा सगुन पनि समुहमा गाइन्छ । त्यो पनि एउटै लयमा,मिठो स्वरमा । हरेक मान्छेलाई कुनै न कुनै किसिमको संगीत मन पर्छ । एक तथ्यांकअनुसार विश्वमा संगीत मन नपराउने मानिसहरुको संख्या ५ देखि १० प्रतिशतको बिचमा छ । बाँकी ९० प्रतिशत मानिसहरुले कुनै न कुनै किसिमको संगीत मन पराउँछन् भन्ने कुरामा दुई मत छैन । फलस्वरुप उक्त गौरा, झोडो तथा सगुनका शब्दहरु सबैलाई स्मरण हुनु त स्वभाविकै हो । तर सबैले समानरुपमा एउटै किसिमले गाउनु भनेको अपत्यारिलो कुरा हो । त्यसमा पनि न त उनीहरुले कुनै किसिमको तालिम लिएका छन्,न त कुनै औपचारिक ज्ञान, न त कुनै भोकल क्लास नै । सानैदेखि मलाई सँधै अचम्म लाग्थ्यो यो कुरा सोचेर ।मैले यही कुरा धेरैलाई नसोधेको पनि होइन । तर धेरैजसो मानिसहरुकोे “परम्परागत गीत भएको हुँदा यो सम्भव छ” भन्ने तर्क भेटे । थोरै मानिसहरुले भने मेरो जस्तै जिज्ञासा बोकेको भेटेँ । तर यहाँनेर मेरो एउटा प्रश्न यहाँहरुलाई –”दोहोरी पनि त नेपालको मौलिक लोक संगीत हो तर हरेक व्यक्तिलाई दोहोरी गाउन तथा खेल्न आउँदैन ।” अर्कोकुरा,वर्तमानमा पश्चिमी संस्कृतिको प्रभावले यी गीतहरु लोप भइरहेका छन् । अहिलेको पुस्ताका कुनै पनि महिलाहरुले गौरा,झोडो तथा सगुन एक लाइन सम्म पनि गाउन नसक्ने अवस्था छ । यी गीतहरु समयमै पुस्तान्तरण गर्न सकिएनन् भने निकट भविष्यमा यी गीतहरु लोप हुदैँनन् भन्न सकिन्न । यसमा सम्बन्धित निकायको ध्यान जान अत्यावश्यक छ ।
अँ साँच्ची ! म गौराको दोस्रो दिनको बारेमा कुरा गरिरहेकी थिए । दोश्रो दिन बिरुडा धोएपछि राती मिठामिठा परिकारहरु पकाइन्छ । त्यो दिनलाई स्थानिय भाषामा ‘नानी रोटे’ (थोरै रोटी पकाउने दिन) भनिन्छ । त्यो दिन घरको सदस्यहरुको लागि मात्र रोटी पकाइन्छ । तेश्रो दिन अर्थात सप्तमीको दिन भित्रकी गौरा मनाइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन् । त्यस दिन राती ‘ठूली रोटे’ (धेरै रोटी पकाउने दिन) मनाइन्छ । त्यसदिन गाउँको दलित समूदायको लागि पनि रोटी पकाउने चलन छ । भोलिपल्ट अष्टमीको दिन बिहान दलित समूदायका मानिसहरु घरघरमा रोटी लिन जाने (त्यारबाँणो माग्ने) चलन छ । त्यही दिन दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ । त्यो दिन गौराघरबाट गौरादेवी तथा महेश्वर गुँसाइलाई गौराको गीत गाउँदै नाच्दै मन्दिरमा लगेर पुजाअर्चना गर्ने चलन छ । गौराको मेला अष्टमीको दिनबाट सुरु हुन्छ । गौराको भोलिपल्ट खेडी मनाइन्छ । खेडीको दिन लटिनाथ देवताको पुजा गरिन्छ । त्यो दिन लटिनाथ मन्दिरमा मेला लाग्ने गर्दछ । खेडीको भोलिपल्ट धोडीको दिन सोमनाथ देवताको पुजा तथा मेला लाग्छ । औपचारिक रुपमा गौरा पर्व सात दिन अथवा पन्चमी देखि धोडीको मेला सम्म मनाएपनि धोडी पछि पनि स्थानियहरुले मनोरन्जनको लागि लमधोडीको नाम दिएर एक दिन मेला थपेको पाइन्छ ।
आज अष्टमी । सुदूरपश्चिमको महान पर्व गौराको चौँथो दिन । तर म र मेरी सखीहरुको लागि गौराको पहिलो दिन । गौराको पहिलो दिन बिरुडा पन्चमीलाई हामीले कहिल्यै ध्यान दिएनौँ । त्यसैगरी दोश्रो दिनमा पनि जेजस्तो पुजा गरेपनि बिरुडा धोएपनि हाम्रो ध्यान बिरुडा धुने कार्यतिर गएन । बरु बिरुडाले भरिएको विशाल डेक्ची टाउकोमा राखेर “हल्लोरी बाला पल्लोरी” भन्दै नाच्ने महिलाहरुमा गयो । हामीले दोश्रो दिनलाई बिरुडा धुने दिन भनेर होइन,’नानी रोटे’ भनेरै चिन्यौँ । तेश्रो अथवा षष्ठीको दिनलाई ‘ठूली रोटे’ भनेर चिन्यौँ । किनकी हामीलाई मात्र रोटीसँग मतलब थियो न कि पुजाआजासँग । त्यसैले गौराको चौँथो दिन तथा मेलाको पहिलो दिन नै हाम्रो लागि गौराको सुरुवाती दिन थियो । चौथो दिन ‘गौरा’,पाचौँ दिन ‘खेडी’,छैठौँ दिन ‘धोडी’ र सातौँ दिन ‘लमधोडी’ । लाग्थ्यो कि एकदुई दिन अझै मेला लाग्ने भए क्या रमाइलो हुन्थ्यो । अझैँ एकचोटी त गाँउका सबै केटाकेटीहरु मिलेर लमधोडीको भोलिपल्ट उप्परधोडीको आबिस्कार गरेर दिनभरी देउडा खेलेको स्मृति मानसपटलमा ताजै छ । सात-सात दिनसम्म रमाइलो गरिए पनि हाम्रो धीत कहिल्यै मर्दैनथ्यो । हामी स्कुलमा हेडसरलाई बरु दशैँमा बिदा नदिन तर गौरामा एक महिनाको बिदा दिन अनुरोध समेत गर्दथ्यौँ । सामान्यतया गौरामा भगवानको पुजाआजा गरिए पनि हामीलाई पुजाआजा सँग कुनै मतलब थिएन । हामीलाई मतलब थियो त केवल नयाँ लुगा,तात्तातो जिलेबी (जेरी),रङ्गीबिरङ्गी गुब्बारा (बेलुन), सिट्टी,मेलाको भिडभाड तथा स्कुलको छुट्टी सँग । अँ ! गुब्बारा भन्दाखेरी एउटा कुरा नलेखिरहन सकिन । म सानी हुँदा गुब्बारा भनेपछि हुरुक्कै हुन्थे । गुब्बारा पनि मेलाबाहेक अन्य समयमा किन्न पाइँदैनथ्यो । गुब्बारा देख्दा किनिहाल्थे । फुट्छ कि भनेर निकै जतनका साथ नखेलीकन राख्थेँ । तर गाउँका बदमास दाईहरु पछाडि सिउँडीको काँडा लुकाएर झुक्याएर गुब्बारा फुटाइदिन्थे । गुब्बारा फुट्दा आफ्नै मुटु फुटेझै लाग्थ्यो । गुब्बाराको हावा फुस्केर जाँदा आफ्नै प्राणपखेरु उडेजस्तो भान हुन्थ्यो । गुब्बारा फुटाउने नरपिचासहरु आफुले विश्वयुद्ध जितेजस्तै गरेर हाँस्दै बाटो लाग्थे तर म त्यहीँ रोएर बस्थे । म रोएको देखेर मानिसहरु नजिकै आएर किन रोएको भनेर सोध्दा गुब्बारा फुटेको भन्न लाज लागेर दिदीहरु हराएकोले रोएको भन्थे । अनि उनीहरु दिदीहरुलाई खोज्न मदत गर्थे ।
आज सबैभन्दा उल्लासमय दिन । एकवर्षदेखिको नयाँ लुगा लगाउने सपना पुरा भएको दिन । एकवर्षदेखिको मेरो तथा मेरा दौँतरीहरुको मनपर्ने मिष्ट परिकार जिलेबी खाने जिलेबी भन्दा पनि गुलियो सपना पुरा भएको दिन । तर यी प्रचुर हर्षबढाइँ सँगै आज मैले हरेक वर्षजस्तै दोधारमा पर्नुपर्ने दिन । हर्ष र उदासीपन दुबै एकैसाथ महसुस गर्ने दिन बिहानै नुहाइधुवाइ गरेर नयाँ लुगा लगाएर कोरीबाटी चिटिक्क परेर मेला जान निस्किनै लाग्दा आमाले खाना पस्किन्थिन् । तर मैले “यसपाली त पक्कावाला व्रत हो” भनेर विश्वास जित्ने कोशिस गर्थे । तर आमालाई थाहा थियो त्यो व्रत मेलापुग्दा सम्म मात्रै हो भनेर । उनले ढिपी गर्दै जबरजस्ती खाना खुवाउन लाग्दा मेरो जिद्घीको अगाडी उनको केही सीप चल्दैनथ्यो । अनि थाकेर बुवालाई सिकायत गर्थिन् । “भगवान् बच्चाहरुले भोको बसेर होइन,पेटभरी खाना खाएर रमाइलो गर्दा,खेल्दा,आमाबुवाले भनेको कुरा पालना गर्दा खुसी हुन्छन् । भगवान् मनमा हुन्छन् । बच्चाहरुको मन खुसी हुँदा भगवान् खुसी हुन्छन् । ठूलो मान्छेले हो व्रत बस्ने त । भोलीपर्सी ठूली भएपछि व्रत बस्नु ।” बुवाले मलाई सदैव यही कुरा भन्नुहुन्थ्यो । मैले बुवाको कुरा बुझेपनि त्यसको आशय भने बुझ्न सक्दिनथेँ । “त्यसोभए म कहिले ठूली हुन्छु ड्याडी ?”म सोध्थे । “एस्.एल्.सी दिएपछि ।” बुवाले भन्नुहुन्थ्यो । तर म मान्छे बाँठी नै थिए । फकाएका हुन् भन्ने चाल पाइहाल्थे । रिसाएरै भएपनि व्रत त बसेरै छोड्छु भन्ने ध्येयले फन्किदैँ हिँड्थे । विशेष गरि हरेक वर्ष कृष्ण जन्माष्टमी गौरापर्वकै दिन पर्दछ । म दोधारिन्थे जन्माष्टमीको व्रत पो राखुँ कि एक वर्षदेखि पर्खेको जिलेबीको मीठो स्वाद लिऊँ ? एक मनले भन्थ्यो आज ठाकुरजीलाई खुसी पारुँ,अर्कोवर्ष जिलेबी खाउँला । त्यसैले हरेक वर्ष बिहानैदेखी व्रत नै बस्ने सोचले मेला हेर्न जान्थे । तर मेला पुग्दा त्यहाँ चारैतिर मुखै ¥यालमग्न हुने रसिला राता जिलेबीहरुका थुप्रा देख्दा आफुलाई के रोक्न सक्थे र ? आँखिर म पनि त बच्चै थिए । त्यो पनि कलियुगकी स्वार्थी बच्ची । तैपनि रोक्ने कोशिस नगरेको भने होइन । घरमा जिद्घी गरेर रिसाएर मेला हिँडेको मान्छे जिलेबी देख्दा खाने सोचसम्म राख्नु भनेको त महापापै भैहाल्यो नि । अनि मन मारी मारी बस्दा साथीहरु भेटिन्थे र जिलेबी किन्न पैसा उठाउँथे । मैले खाँदिन भन्दा पैसा नभएर हो कि सोचेर आफ्नै पैसाले खुवाउन सम्म तयार हुँदा पनि म आफुलाई रोक्थे । उनीहरु जिलेबी किनेर ल्याउँथे र मेरो छेउमै बसेर खान सुरु गर्थे । मलाई पनि खान ढिपी गर्थे । त्यसपछि बिहान बुवाले भनेको कुराको आशय बुझेजस्तै लाग्थ्यो ।“आँ जेसुकै होस् । मेरो शरिरभित्र ठाकुरजी हुनुहुन्छ अरे । अनि मैले जिलेबी खाएपछि उहाँले पनि पक्कै खान पाउनुहुन्छ । नौनी खाने मान्छेलाई जिलेबी पनि मिठो नै लाग्दो हो । आँखिर मलाई पनि त जिलेबी र नौनी दुबै मन पर्छ ।” यस्तै सोचेर हरेक वर्ष मैले ठाकुरजीलाई उहाँको जन्मदिनमा जिलेबी भेट गरेँ । चित्त बुझाएँ कि श्रीकृष्ण मेरो खुसीमा खुशी हुनुहुनेछ। तपाइँलाई सुन्दा अचम्म लाग्ला कि हामी जिलेबी खान एक वर्ष कुर्थ्यौँ । किनकी गाउँमा त्यतीबेला मिठाइ पसलहरु थिएनन् । मिठाइ, जिलेबी गौरा मेला तथा शिवरात्री मेलामा मात्र बनाइन्थ्यो । जसकारण मजस्ता जिलेबीप्रेमीहरुले जिलेबी खान ६ महिना वा कहिलेकाँही एक वर्ष नै कुर्नुपथ्र्यो । गौराबाट फर्किएपछी राती आमाले बिरुडा भुटथिन् । आमाले गौराको व्रत लिन्थिन् र राती बिरुडाले सर्वप्रथम बुवालाई पुज्थिन अनि क्रमैसँग दिदीहरुलाई पुज्दै अन्तीममा मेरो पालो आउँथ्यो । आमाले अनौठो आशीर्वाद दिन्थिन् जुन त्यतीबेला मेरो बालमस्तिष्कले अथ्र्याउन सक्दैनथ्यो ।
“हिमाञ्चल हिँउ छन्जया सम्म,समुन्द्र पानी छन्जया सम्म,
गोराको बिरुडो,दुत्त्याको च्युडो तेरा सिरमा रैझौ ।
जोँला पूत पाल्दु पाए,जोँला खाट सिन् पाए
मूलो पानी खान पाए,कूलो वर पाए”
यस्तै यस्तै केही भन्थीन् । जे होस् मलाई त्यो शब्दहरुसँग वास्ता थिएन ।
गौरा आउनुभन्दा लगभग एक महिना अगाडिबाटै हाम्रो गाउँका हरेक घरबाट नयाँ लुगा किन्न जौलजिबी जानेहरुको लस्करै लाइन देखिन्थ्यो । नेपाल भारतको सिमाना जौलजिबीबाट करिब पाँच किलोमिटर माथी डाँडोमा हाम्रो पस्ती पर्दछ । त्यसैले लुगा किन्न सबैजना जौलजिबी नै जान्थे । गौराबाहेक अरुबेला नयाँ लुगा किन्ने तथा सिलाउने कार्य गरिदैनथ्यो । मेरा कतिपय दौँतरीहरु गौरा पर्वमा स्कुलको नयाँ पोसाक सिलाउदाँ पनि औधी खुसी हुन्थे । गौरामा नयाँ लुगा भए पुग्थ्यो । चाहे त्यो स्कुलको पोसाक होस् या जस्तोसुकै लुगा । आफ्नो दाजुदिदीहरुको पुरानो पोसाक लगाएर पढिरहेका भाइबहिनीहरु नयाँ पोसाक प्राप्त गर्दा बादलमाथी उड्थे । त्यसैगरी गौरामा कसले राम्रो कुर्थासुरुवाल किन्यो भन्ने कुराको प्रतिस्पर्धा एक महिना अगाडिबाटै कक्षाकोठामा सुरु हुन्थ्यो । अझै कतिपयले आफ्नो यस्तो लुगा छ भनेर हिन्ट दिन स्कुलको पोशाक (स्कुलको कुर्थासुरुवाल) मा नयाँ लुगाको सल हालेर आउँथे । आउटड्रेसको सल किन लगाएको भनेर सरको हातबाट कुटाइ पनि खान्थे । गौरामा पाइन्ट टिसर्ट लगाउने केटीलाई धनि र नक्कल पार्ने केटीको नजरले हेरिन्थ्यो भने कुर्थासुरुवाल सिलाउनेलाई सोझी र गरिब । जोकोहीले पाइन्ट लाउन हिचकिचाउँथे,लजाउँथे । घरमा दिदीबहिनीको लागि थानको ठुलो कपडा किनिन्थ्यो र सबैलाई त्यही कपडाको कुर्था सुरुवाल सिलाइन्थ्यो । हाम्रो बुवाले पनि हामी तीन दिदीबहिनीहरुको लागि थानको कपडा ल्याउनुहुन्थ्यो तर मेरी माहिली दिदी एकैनासको लुगा लगाउँदिन भनेर गुनासो गर्थी । त्यसैले ठुल्दी र मलाई कुर्थासुरुवाल किनिए सान्दीलाई पाइन्ट किनिन्थ्यो । मलाई र ठुल्दिदीलाई एउटा क्रीम आउँथ्यो भने उसको लागि अर्को छुट्टै । हामी दुईजनालाईलाई मेकअप गर्न पनि आउँदैनथ्यो न त खतरा खतरा हेयरस्टाइल । सँगै हुर्केको हामीहरु ऊ चाहिँ कसरी अलग्गै भइ कुन्नी ? गौराको दिन,तीजको दिन हाम्रो घरमा कपाल कोर्ने र मेकअप गरिमाग्ने दिदीबहिनी,काकी,ठुलीआमा,फुपुहरुको घुँइचो लाग्दथ्यो । अरुलाई सिंगार्दा सिंगार्दै ऊ आफू सिंगारिनै बिर्सिदिन्थी ।
समय बितेसँगै एउटा छोरीमान्छेकोे चन्चलता गम्भिरतामा परिवर्तन हुँदोरहेछ । मन चन्चल नै भएपनि समाजले के भन्ला ? भन्ने भयले उसले आफ्ना विभिन्न इच्छा,चाहना तथा चन्चलताहरुलाई अदृश्य पारेर जबरजस्ती गम्भीर बन्नुपर्दो रैछ । फलस्वरुप गम्भीरताको स्वाङ् रच्दारच्दै साँच्चिकै ऊ गम्भीर नै बनिदिने रहिछे । के अब पुन फिर्लान् र ती दिन? त्यो नयाँ लुगा पाउँदाको खुसी,त्यो रसबरी जस्तै गुलियो गौराको पर्खाइँ,गौराको दिन बिहानै हिरा काकी र काली काकी रोटी (त्यारबाँणो) माग्न आउँदा आकाङ्क्षा भन्दा बढी रोटी पाएपछि उहाँहरुको मुहारमा झल्किएको त्यो परितुष्टि,मेरो लुगा सिइयो कि सिइएन भनेर हरेक दिन दर्जी दाईको घरमा गई निराश हुँदै घर फकेर्को क्षण,मेरो लुगा अरुको भन्दा पहिला सिलाइदिन बुवाद्वारा लगाइएको सिफारिस,आफ्नो लुगा छोटो पारेर दर्जी दाईले आफ्नो सानी छोरीलाई बचेको कपडाले कुर्था सिलाइदिएको कुरा छिमेकी काकीबाट थाहा पाउँदाको त्यो आक्रोश,साथीहरुसँग झगडा हुँदा “पख् यसपाली गौरामा तँलाई हाम्रो ग्रुपबाट हटाइदिन्छु” भनेर दिएको धम्की,सबैभन्दा अधिक सुन्दर लुगा आफ्नो भएको र सबैले आफुलाई हेरिराछन् भन्ने त्यो भ्रम । आहा ! कति रमाइलो हुन्थ्यो होला ती दिन फेरी फर्किदिए । खैर,सातवर्षदेखी छुटेको जिलेबी,गौरा मेला,मेरा ती हितैसी सखीहरु र मेरो शैशवकाललाई निकै सम्झिरहिछु आज । आइ मिस यु गौरा ।
प्रतिक्रिया राख्नुहोस्