पुड्की
“आहा ! कति भाग्यमानी छिन् नम्रता दिदी । न घाँस काट्नुपर्छ, न खेतमा काम गर्नुपर्छ न बिहान चाडैं उठ्नुपर्छ । वर्षदिनमा घर आएर सबैको माया पाउछिन्, सम्मान पाउँछिन् । बिचबीचमा अङ्ग्रेजी मिसाउदै बोल्छिन् । कपाल पनि कति चिप्ला सिल्की । स्याम्पुको विज्ञापनमा आउने केटीका जस्ता । लुगा पनि कस्ता राम्रा । झन् हिजो लगाएको निलो रङ्गको कुर्था त आहा कति कति राम्रो । अनुहार कति गोरो ।”

आज पनि आमाको चर्को आवाजले सबेरै जबर्जस्ती आँखा मिची उसले । चिसो पानीले मुख धुन र पानी भर्न गाग्री बोकेर पधेरातिर झरी । आफू भन्दा ठूलो गाग्री सकिनसकी कम्मरमाथी राखेर “मै छोरी सुन्दरी कसरी भरु पानी?” गुनगुनाउँदै पानी बोकेर अघि आएकै बाटो उकालो चढी । काठको पिर्कामा पानीको गाग्री बिसाएर बासी रोटी राखेको छापरो (रोटी राख्न प्रयोग गरिने बाँसको टोकरी) खोज्न थाली । रोटी खाइनखाइ गरेर कम्मरमा डोरी बेरेर हसियाँ बोकेर घाँस काट्न हिँडी । रगतका धारा बगाइदिने जुगा टिप्दै एक भारी घाँस काटी । फेरि आफुभन्दा ठूलो भारी बोक्दै ओरालो झरी ।
घर आएर आमाले पस्केको भात मीठो मानी मानी थपी थपी खाइ । अनि मकै बोक्न खेततिर दगुरी । पानी दक्र्यो । धानको कुन्यु पालले ढाकी । अनि बिहानदेखी जुवा खेलिरहेको बाउ रक्सीले मात्तेर खेतमा काम गरिरहेकी आमालाई कुट्न लाग्दा मन खिन्न पारी दगुर्दै घरपछाडी लुकेर सुक्कसुक्क रोइरहेको भाई आकाशको सखी पनि बनिदिइ ऊ ।
दिनभरी काम गरेर थाकेकी निर्दोष आमालाई बिनाकारण कुट्ने बाउ उसलाई दशैको कथामा सुनेको महिशासुर जस्तै लाग्थ्यो । अझ त्यसमा पनि पल्लो घरकी ठुलीमाले आमालाई नै दोष दिएको सुन्दा उसको मन अमिलो हुन्थ्यो । दिनभरी केही काम नगरी दशैको नाममा जुवा खेल्दै रक्सी धोकेर राति घरमा स्वास्नी कुट्ने अनि आफू र भाइको बेवास्ता गर्ने दानवरुपी आप्mनो बाउ र माथ्लो घरकी नम्रता दिदीको बाउबीच मनमनै तुलना गरी उसले । “कहिल्यै रक्सी नखाने, घरको काममा सघाउने, नम्रता दिदिले दस रुपैयाँ माग्दा बीस दिने, गाउँभरी उदाहरणिय बनेका नम्रता दिदीका बाउको छोरी हुन पाए……!” मनमनै तर्कना गरी उसले ।
उसलाई एक महिनाभरीको स्कुलको गृहकार्य के के छ ? सम्झिन फुर्सद नै छैन । मकै भित्र्याउनु छ । धान काट्न बाँकी नै छ ।
पिङ्ग खेल्ने, चङ्गा उडाउने, मामाघर जाने, डेउडा नाच्ने, गाउने रहर त किन नहोला र तर उसले कहिल्यै ती रहर देखाइन । बस् ! काम छिटो सकियोस् अनि ढुक्कसँग धीत मरुन्जेल बिहान आठ बजेसम्म घुरेर सुत्नु पाए हुन्थ्यो भन्ने छ ।
पढ्न र कमाउन शहर गएका गाउँका युवा तन्नेरीहरु गाउँ फर्किरहेछन । छोराछोरी पढाउन शहर गएका आधुनिक आमाहरु टाउकामा चश्मा ठोकेर पिठ्युमा केटाकेटी बोकेर बेसी गाउँमा झरिरहेछन् । उसले कल्पना गरी आफू एसएलसी पास गरेर शहर गएर शानले दशैमा गाउँ फर्केको अनि आफूसँग सबैले हाँसिहाँसी बोलेको । उसले कक्षा दशमा पाइला टेक्ने दिन गनी । अनि अगाडी तीन वसन्तहरुले बाटो छेकेको देखेर झसङ्ग भइ । उसको बाह्र वर्षे मस्तिष्कमा हजारथरी कल्पनाहरुले लुकामारी खेले । उसलाई नम्रता दिदी बन्न मन लाग्यो।
‘आहा ! कति भाग्यमानी छिन् नम्रता दिदी । न घाँस काट्नुपर्छ, न खेतमा काम गर्नुपर्छ न बिहान चाडैं उठ्नुपर्छ । वर्षदिनमा घर आएर सबैको माया पाउछिन्, सम्मान पाउँछिन् । बिचबीचमा अङ्ग्रेजी मिसाउदै बोल्छिन् । कपाल पनि कति चिप्ला सिल्की । स्याम्पुको विज्ञापनमा आउने केटीका जस्ता । लुगा पनि कस्ता राम्रा । झन् हिजो लगाएको निलो रङ्गको कुर्था त आहा कति कति राम्रो । अनुहार कति गोरो । अनि मोबाइल पनि कति ठूलो हो आम्मामामा ! अस्ति सेल्फी खिच्दा म काली लाई पनि गोरी देखाइदेको । म नम्रता दिदीकी आफ्नै बहिनी भइदिए त्यो मोबाइल माग्थे होला । नम्रता दिदीले घर आउँदा लगाएको जुत्ता कति राम्रो अनि ब्याग त के कुरा गर्नु । नम्रता दिदीको नाम नै क्या राम्रो । आहा ! नम्रता दिदीको त जे पनि राम्रो ।”
आफुलाई गाउँभरीकाले पुड्की भनेर हेप्दै बोलाएको सम्झेर आफै देखि उसलाई रिस उठे जस्तो भयो । घरमाथीको जोग्लुटा डाँडाँमा गएर आफ्नो नाम पुड्की नभई गौरी भएको चिच्याएर सबैलाई सुनाउन मन लाग्यो उसलाई । तर गौरी नाम पनि नम्रताको तुलनामा राम्रो भने लागेन । “के नाम राख्ने होला त नम्रता दिदीको भन्दा राम्रो?” गम्न थाली ऊ । “पानीले लुगा भिजाइसक्यो ओइ पुड्की काँ मरिस?” फेरि आमाको चर्को आवाज उसको कानमा गुन्जियो ।
प्रतिक्रिया राख्नुहोस्