पचास वर्षपछि खानेपानीको सुविधा

१४ पुष,काठमाडौं । चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ धारापानीका बासिन्दाले पचास वर्षपछि घरआगनमै खानेपानी पाउने भएका छन् ।
वडा कार्यालयले आव २०७८–७९ को चार लाख ९० हजार बजेट परिचालन गरी खानेपानी निर्माणको कार्य अगाडि बढाएको छ । बतासे झर्नामा खानेपानीको इन्टेक ट्याङ्की निर्माण गरी धारापानी गाउँसम्म खानेपानी पुर्याउन पाइपलाइन बिछ्याउने कार्य सुरु गरिएको छ ।चार किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने कार्य भइरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताए ।
मुहानदेखि गाउँसम्मको दूरी चार किलोमिटर छ । खानेपानीका लागि स्थानीयवासीले कूल लागतको २० प्रतिशत श्रमदान गर्नुपर्नेछ । त्यसका लागि स्थानीय बासिन्दा श्रमदानमा जुटेका छन् । धारापानी गाउँमा वि.सं. २०२४ मा बस्ती बसेको हो । बस्तीमा बस्दै आएका १८ परिवारको घरघरमै खानेपानीको धारा जडान गर्ने वडा कार्यालयले योजना बनाएको छ ।
खानेपानीको व्यवस्था नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य रहेका स्थानियवासी घरमै खानेपानीको धारा जडानका लागि कार्य अगाडि बढाइएपछि निकै खुसी भएका छन् । त्यहाँका बासिन्दालाई वर्षातका बेला खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता थियो । खानेपानीका धारा घरमै पुर्याउने कार्य सुरु भएपछि विगतको पानीको समस्या हटेर जाने भएको छ।
धारापानीका स्थानीय बासिन्दासँगै पर्यटकीय क्षेत्र बतासे झर्ना जाने आन्तरिक तथा बाह्य पर्यटका लागिसमेत पदमार्गमा खानेपानीका धारा राख्नसमेत पहल भइरहेको वडाध्यक्ष महराले बताए।
प्रतिक्रिया राख्नुहोस्