स्वास्थ्य बीमाको दायरामा आउन सके स्वास्थ्य उपचारमा सहजता हुन्छ : स्वास्थ्यमन्त्री
पत्रकारका हकहितका लागि उचित प्रश्ताव लिएर मन्त्रालयमा आउन महासंघलाई आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्य उपचारमा सहजता हुने बताउनु भएको छ । बुधवार नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले पत्रकारहरुको स्वास्थ्योपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताउनु भयो । मन्त्री खतिवडाले श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भएपनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताउनु भयो । उहाँले पत्रकारका हकहितका लागि उचित प्रश्ताव लिएर मन्त्रालयमा आउन पनि महासंघलाई आग्रह गर्नुभएको छ । त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्योपचारका लागि छुट्टै अस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकारको सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताउनु भयो । नेपाल पत्रकार महासंघले आज स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरेर ६७ औँ स्थापना दिवस मनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्