गठबन्धन तोड्नु भनेको कांग्रेसलाई सिद्ध्याउने षड्यन्त्र हो : प्रधानमन्त्री देउवा

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज शुक्रवार आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन एवम् विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर चुनावमा लाग्न आग्रह गर्नुभयो ।
गठबन्धन भएर सरकार बनेकै कारण नेकपा एमालेको एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले वर्तमान सरकारले पालिका चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको र आउँदो मङ्सिरमा हुने प्रदेश सभा र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्