राष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु

१७ फागुन, काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ । राष्ट्रपतिको चुनाव यहि फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार उम्मेदवारका प्रतिनिधिसँग आज छलफल राखिएको छ । छलफलमा आचारसंहिताबारे प्रतिनिधिलाई जानकारी गराइनेछ । कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नहुने, दल वा उम्मेदवारले गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने आचारसंहिताले व्यवस्था गरेको छ । आचारसंहिता लागू भएको अवधिमा योजनाको शिलान्यास, उद्घाटन र सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा अनुदान दिने जस्ता कार्यक्रम गर्न रोक लगाइएको छ । राष्ट्रपति चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ ।
प्रतिक्रिया राख्नुहोस्