रातिदेखि मौन अवधि सुरु हुँदै, कुनै पनि प्रचारप्रसार गर्न नपाइने

७ बैशाख , काठमाण्डौ । आउँदो आइतवार उपचुनाव हुने क्षेत्रमा आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । प्रतिनिधि सभा अन्तर्गत बारा–२, चितवन–२ र तनहुँ–१ मा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइँदैन । यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने पनि आयोगको आचारसंहितामा उल्लेख छ ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ । यसैबीच, उपचुनाव हुने क्षेत्रका मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा भोलिदेखि ३ दिनसम्म बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ। यस्तै, मतदान हुने १० गते आइतवारका दिन मतदानको लागि विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका संरचनाको प्रयोग हुने भएकाले उपचुनाव हुने निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन पनि आयोगले सरकारलाई अनुरोध गरेको छ। चुनाव हुने दिन पनि सार्वजनिक गाडी समेत चल्नेगरी सुरक्षाको व्यवस्थापन गर्न र मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्म जाँडरक्सी बिक्री वितरणमा रोक लगाउन पनि आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.