दार्चुलादेखि काठमाडौंसम्मको यात्रा

२८ वैशाख, काठमाडौं । संघीय राजधानीदेखि निकै दूर । सदूरपश्चिमको राजधानीबाट पनि अलि टाढाकै जिल्ला हो, दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा जन्मिएकी हुन्, दीपा रोकाया ।
दार्चुला, धनगढी हुँदै काठमाडौं पुगेकी रोकायाको अहिले परिचय नै फेरिएको छ । सानै उमेरदेखि संगीतमा रमाउने उनी अहिले परिचित गायिकाको रुपमा आफ्नो कर्म गरिरहेकी छिन् । सुदूरपश्चिम अनि देउडा । यी शब्दहरु मात्रै फरक हुन् । दुवैको परिचय कुनै न कुनै रुपमा मिल्ने गर्छ भन्दा फरक पर्दैन । यही माटोबाट बामे सरेकी हुन्, दीपा रोकाया । ‘सानै उमेरदेखि संगीतमा मन लाग्यो,’ उनले भनिन्, ‘निकै संघर्ष गरेर यहाँ पुगेकी छु । यो यात्रा रोकिनेवाला छैन ।’ रोकायाले २०६० सालदेखि आफ्नो सांगीतिक यात्रा तय गरेकी हुन् । उनको यो यात्रा लोकगीतबाट सुरु भएको हो ।
इराकमा १२ जना नेपाली मारिएको घटनामा आधारित गीत उनले सार्वजनिक गरेकी थिइन् । जुन गीत नेपाली दर्शक, स्रोताले मन पराएका थिए । ब्यान्तारो आइगयो, सम्झना छाडी गया, मेरो प्यारो डडेल्धुरा, असल साथी बनी रौँला लगायतका उनका देउडा गीतहरु चर्चित छन् । ‘दार्चुलादेखि काठमाडौंको यात्रा गर्दा निकै संघर्ष गर्नुप¥यो । सुरुवाती दिनमा राम्रोसँग नेपाली बोल्न पनि आउँदैन थियो । तर कर्मलाई जारी राख्दा सबैले माया गर्नुभएको छ’ उनले भनिन् ।
रोकायाको मेरो प्यारो डडेल्धुरा बोलको गीतले अवार्ड पनि पाएको छ । जुन गीत देउडाका हस्ती मानिने भोजराज भट्टसँगको सहकार्यमा सार्वजनिक भएको थियो । उनले यसै वर्ष रेडियो नेपालबाट लोकगीतमा स्वर परीक्षा पनि पास गरेकी छिन् । संघीय राजधानी काठमाडौंलाई कर्मथलो बनाएकी रोकाया देउडाको श्रीवृद्धिका लागि निरन्तर लागिरहने बताउँछिन् ।
प्रतिक्रिया राख्नुहोस्